पश्चिमी वायु र ‘अर्नब’ चक्रवातको प्रभाव : सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायु र ‘अर्नब’ चक्रवातको प्रभाव : सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • पश्चिमी वायु र ‘अर्नब’ चक्रवातको प्रभाव : सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले आज देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव देखिएको महाशाखाले जनाएको छ । यसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ ।

    आज राति पनि देशभर अधिकांश बदली रहनेछ । देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने थोरै स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।

    यसैगरी, शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij