काठमाडौं । शक्तिशाली चक्रवात (अर्नब) का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
बिभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेस प्रदेशलगायत कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा बादल लाग्नेछ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । अर्नबका कारण देशभर साधारणतया बादल लागेको छ । पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट हिजो बिहान ८ः१५ बजे जमिनमा प्रवेश गरेको थियो ।
जमिनमाथि प्रवेश गरेको ‘अर्नब’ उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको वायुमण्डलमा हिजोदेखि ‘अर्नब’को प्रभावले बादल देखिएको छ । आजदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन भनेको छ । पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भए पनि यस अवधिमा सुरक्षित ठाँउमा रहन विभागले आग्रह गरेको छ ।
यसबाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको छ ।