कुलेखानीमा जलसतह बढेपछि देउराली–सिस्नेरी सडक बन्द

कुलेखानीमा जलसतह बढेपछि देउराली–सिस्नेरी सडक बन्द

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • कुलेखानीमा जलसतह बढेपछि देउराली–सिस्नेरी सडक बन्द

    हेटौँडा । लगातारको वर्षापछि कुलेखानी जलाशयको पानी बढ्नेक्रम नरोकिएपछि देउराली–सिस्नेरी सडकखण्डमा आवागमन बन्द गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज अपराह्न ४ः०० बजेदेखि सोमबार बिहान ५ः०० बजेसम्म सो सडकखण्डमा दुवैतर्फ सवारी सञ्चालन रोक्ने निर्णय गरिएको बताए ।  

    जलाशयको सतह निरन्तर बढिरहेका अवस्थामा रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले पूर्वसावधानीस्वरूप सवारी आवागमन बन्द गर्न लागिएको हो । सवारी चलिरहेको अवस्थामा चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपर्ने अवस्था आए सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए ।

     भैँसे हुँदै देउराली–सिस्नेरीतर्फ जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी देउराली हेटौँडातर्फ आउने सवारीसमेत सो अवधिमा सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक रूपमा काठमाडौँ हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ । 

    उक्त राजपथमा पनि जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले हाल कुलेखानी बाँधको ढोका खोलिएको नभई सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको स्पष्ट पारे। जलाशय र तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको अधिकारीले बताए।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij