काठमाडौँ । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये ११ करोड ७१ लाख ६३ हजार ४६४ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ ।
यस अवधिमा २२ लाख ४८ हजार बराबरको काठ बरामद गरिएको छ । त्यस्तै ८५ लाख २३ हजार मूल्य बराबरका केही सामग्री भने नष्ट गरिएको सशस्त्र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी गणले ६० लाख ९६ हजार ६६३ स्रोत नखुलेको रकम बरामद गरेको थियो । वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब २१ लाख बराबर बरामद भएको प्रतिवेदनमा जनाइएको छ । सशस्त्र प्रहरी बलले सामान ओसारपसारमा संलग्न भएका २१ जना पक्राउ गरेको थियो ।
पछिल्लो समय लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । गाँजा ३४३ ग्राम, ट्रामाडोल १५ हजार ८७० टयाब्लेट, नाइट्रोभेट तीन हजार ४० टयाब्लेट, ब्राउन सुगर ३६ ९ ग्राम, अफिम ५.५ केजी, चरेश छ ग्राम, खैरो हिरोइन एक ग्रामलगायत बरामद गरिएको छ । यस अवधिमा लागू औषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न २२ जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिएको छ ।
गणले मानव बेचबिखन नियन्त्रण अभियानअन्तर्गत २३ जना महिलाको उद्धार गरेको जनाएको छ । मानव बेचबिखनसम्बन्धी सूचनाका आधारमा जमुनाह नाकामा गरिएको जाँचका क्रममा उनीहरूको उद्धार गरिएको गणले जनाएको छ । सो प्रकरणमा संलग्न रहेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।