भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा राहदानी बनाउँन आउँनेहरुलाई वैदेशिक रोजगारी सम्बन्धि सुचना परामर्श दिने गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरुलाई मध्यनजरराख्दै कार्यालयले विदेश जाँदा आइपर्न सक्ने जोखिम, ठगी हुन सक्ने सम्भावना लगायतका विषयमा जानकारी दिने गरिएको हो ।
हालै सुर्यविनायक नगरपालिकामा आयोजित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत सम्बन्धित सारोकारवालाहरुबीचको अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा राहदानी बनाउँन आउँने २ हजार ४ सय ४७ जनालाई त्यस्तो परामर्श दिइएको जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले नेपाली राहदानी प्रयोग गरेर कामका लागि ४० लाख विदेशिएको बताए ।

सामान्य जानकारी समेतको अभावमा विदेशिनेहरु धेरै ठगीमा पर्ने गरेको बताउँदै प्रजिअ खड्काले पछिल्लो समय सचेतता अभिबृद्धीसंगै त्यस्तो क्रममा कमि आएको जानकारी दिए । पिडामा परेर आएकालाई तत्काल राहत दिन सके राष्ट्रसेवक प्रति विश्वास बढ्ने खड्काका भनाई थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले जनसंख्या बृद्वीदर घटेपनि वैदेशिक रोजगारीका समस्या दिन प्रतिदिन बढ्दै गएको आफुले महसुस गरेको बताए। भक्तपुरमा पनि त्यसता केश धेरै आउने गरेको जानकारी दिदंदै खड्काले एउटै व्यक्तिको आर्थिक अपराधका ३८ वटासम्म केश भक्तपुरमा फेला परेको बताए ।
प्रमुख प्रसासकिय अधिकृत युवराज आचार्य भरसक वैदेशिक रोजगारमा जानै नपर्ने गरि काम आफ्नो पालिकाले गर्दै आएको बताए । जानै परे शुरक्षित तरिकाले पठाउने व्यवस्था गर्नु पर्नेमा आचार्यको जोड थियो।
बर्सेनि पाँच लाख नयाँ रोजगारीका लागि आउने गरेको बताउँदै आचार्यले दिनहुँ २२००–२३०० सय रोजगारीको खोजीका लागि विदेशिने गरेको बताए ।

सुर्यविनायक नगरपालिका आर्थिक विकास समितिका सभापति तथा सुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुषराज बस्नेतले नगरपालिकाले पहिलेदेखि नै भौतिक पूर्वाधार विकाससंगै मानवीय विकासका काममा ध्यान दिने गरेको बताए। सबैले इमान्दारी पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने विदेशीनेको संख्यामा कमि मात्र होइन, विदेशीने क्रममा हुने ठगीसमेत नियन्त्रण गर्न सकिने बस्नेतको भनाई थियो ।
वैदेशिक रोजगार बिभागका कानुन अधिकृत निरकुमार बिश्वकर्माले बिभागमा वैदेशिक रोजगार सम्बन्धी ४५–५० हजार मुद्दा रहेको बताउँदै एकजना अधिकृतले सात–आठ हजारसम्म हेर्नुपर्ने अवस्थाका कारण मुद्धा टुङ्याउँन समय लाग्ने गरेको बताए । खोटाङबाट शुरु भएको सामी कार्यक्रम सबै जिल्लाका ६ सय २६ पालिकामा बिस्तार भइसकेको बिश्वकर्माले जानकारी दिए।

आप्रवासी सेवा केन्द्र भक्तपुरकी अम्मिता कार्कीले राहदानी बनाउँने क्रममै परामर्श दिने गरिएको बताउँदै विदेश जानेलाई निःशुल्क तालिमको व्यवस्था समेत गर्दै आएको बताइन । श्रम स्वीकृति, जेलमा परेकाको उद्वार, ठगी, स्वास्थ्य समस्या , वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सुविधाका बारेमा जानकारी दिने गरेको बताइन।
कार्यक्रममा गएको आर्थिक बर्ष ८ लाख ३९ हजारले श्रम स्वीकृति लिएर विदेश गएको, त्यसरी विदेश जानेमध्ये एक प्रतिशत मात्र दक्ष कामदार रहेको जानकारी दिइएको थियो । वैदेशिक रोजगारीमा जाने क्रममा मेनपावरबाट ठगी, बढी रकम दिएर पठाउने, एउटा काम भनेर अर्को काम लगाउँने, बढी तलव भनेर कम सुविधा दिने लगायतका समस्या बढी देखिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।