काठमाडौं । भारतको मेघालयमा कोइलाखानी विस्फोटमा परेर दुई नेपालीको ज्यान गएको छ । बिहिवार भएको विस्फोटमा परेर ज्यान गुमाउनेमा खोटाङका एका घरका दुई दाजुभाइ रहेका छन् ।
मृत्युु हुनेमा बराहपोखरी गाउँपालिका–१, सालघारी निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र उनका २४ वर्षीय भाइ सुरेन्द्र रहेका छन् । घटनामा परेर बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी तथा उदयपुर साउनेका ललित मगर गम्भीर घाइते भएका छन्।
बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परेर उनिहरूको मृत्युु भएको आफन्तले बताएका छन् । उक्त घटना भएका वेला काममा रहेका सात जनामध्ये बराहपोखरी बालम्पाका ताराबल मगर भने सकुशल रहेका छन्।
ताराबलले फोनमार्फत सो घटनाको जानकारी दिएको छिमेकी शिवकुमार श्रेष्ठले बताए । घट्नाको बिस्तृत विवरण आउँन नसकेको बताइएको छ ।