बिराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो मे१ख २८८४ नम्बरको टिपर र प्र।१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राईको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले टिपर चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज राईलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।