कालीकोट । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागअन्तर्गत लक्जेम्बर्ग रेडक्रसको साझेदारीमा कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमको एकदिने वार्षिक समीक्षा तथा सिकाइ कार्यशाला यही माघ ८ गते तिलागुफा नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यशालाको मुख्य उद्देश्य कार्यक्रमको समग्र प्रगतिको मूल्याङ्कन गर्नुका साथै कार्यान्वयनका क्रममा प्राप्त सिकाइ, चुनौती, सबल र दुर्बल पक्षहरूको समीक्षा गर्दै आगामी दिनका लागि स्पष्ट कार्यदिशा तय गर्नु रहेको थियो ।

३७ जनाको सहभागिता, स्थानीयदेखि केन्द्रसम्मको प्रतिनिधित्व
कार्यशालामा तिलागुफा नगरपालिकाका पदाधिकारी, वडाध्यक्षहरू, उपभोक्ता समितिका प्रतिनिधि, कार्यक्रम सञ्चालित विद्यालयका शिक्षक तथा जुनियर रेडक्रशका सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखाका स्वयंसेवक तथा कर्मचारी, साथै केन्द्रीय कार्यालयका कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा परियोजनाबाट लाभान्वित परिवारका चार जनाले आ–आफ्नो अनुभव वताएका थिए ।

कार्यशालामा नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखाका उपसभापति धर्मबहादुर शाहीको सभापतित्व तथा तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्देश्यबारे नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका उप–निर्देशक राजेन्द्रकुमार रोकाहाले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन अनुगमन तथा मूल्याङ्कन अधिकृत शेखर रेग्मीले गरेका थिए ।
आगामी वर्षका गतिविधिबारे अभिमुखीकरण
कार्यशालाका क्रममा आगामी वर्षका लागि तय गरिएका कार्यक्रमहरूको अभिमुखीकरणसमेत गरिएको थियो । आवश्यकताका आधारमा थप गरिएका गतिविधि, बजेट, समयावधि, कार्ययोजना तथा कार्यक्रमसँग सम्बन्धित विभिन्न सरोकारवालाको भूमिकाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

कैलाली र कञ्चनपुर शाखाका उत्कृष्ट अभ्यास कालीकोटमा भित्र्याउने तयारी
कार्यशालापछि सिकाइ आदान–प्रदान तथा अवलोकन भ्रमणअन्तर्गत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन विभागको समन्वयमा कालीकोट जिल्ला शाखाका प्रतिनिधिहरूले माघ ९ गतेदेखि १५ गतेसम्म कैलाली जिल्ला शाखामा सञ्चालित परियोजनाहरूको अध्ययन भ्रमण सम्पन्न गरेका छन् ।
भ्रमणका क्रममा कञ्चनपुर जिल्लाको दोधरा–चाँदनीमा सञ्चालित गतिविधि, कैलालीमा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रम, साथै बाटोमा पर्ने ऐतिहासिक टिकापुर पार्क, अर्घाखाँचीको सुपा देउराली मन्दिर र प्यूठानको स्वर्गद्वारी मन्दिरको समेत अवलोकन तथा दर्शन गरिएको थियो ।
उक्त भ्रमणमा कालीकोट जिल्ला शाखाका पदाधिकारी, कर्मचारी तथा केन्द्रीय कार्यालयका कर्मचारी गरी ११ जनाको सहभागिता रहेको थियो ।

कालीकोटमा अवलम्बन गर्न सकिने प्रमुख सिकाइहरू
भ्रमण तथा छलफलपछि कालीकोट जिल्लामा पनि निम्न अभ्यासहरू प्रभावकारी रूपमा लागू गर्न सकिने निष्कर्ष निकालिएको छ :
क. स्थानीय तहबाट परियोजनाका लागि ६० प्रतिशतसम्मको सहलगानी व्यवस्था
ख. नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको संस्थागत विकासका लागि सरोकारवालासँग प्रभावकारी समन्वय
ग. वडा, नगरपालिका तथा समुदाय तहमा कार्यक्रमको व्यापक प्रचार–प्रसार
घ. प्रकृतिमा आधारित समाधानअन्तर्गत पानी सङ्कलन पोखरी तथा संरक्षण संरचना निर्माण
ङ. पहिरो नियन्त्रणका लागि भेटेभरजस्ता बहुवर्षीय बिरुवाको वृक्षारोपण
च. नगद सहयोग कार्यक्रमअन्तर्गत प्रतिपरिवार रु ४०,००० सम्मको सहयोग
छ. रेडक्रश च्यापियनशीप गठन तथा प्रभावकारी परिचालन

(यो समाचार नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका उप–निर्देशक तथा एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यक्रम संयोजक राजेन्द्रकुमार रोकाहासँगको कुराकानीमा आधारित रहेको छ ।)