काठमाडौं ।आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उमेदवार छन् । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनेर राउतविरुद्ध आयोगमा उजुरी परेको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार सुनारले गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भनेर उजुरी परेपछि आयोगलेस्पष्टीकरण सोधेको हो ।
त्यस्तै, काठमाडौं–५ बाट उमेदवार बनेकी अधिकारीविरुद्ध विदेशमा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट सहयोग गर्न आग्रह गरेको भन्ने उजुरी आयोगमा परेको छ । तीनैजनालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता विपरीतको गतिविधि गरेको भन्दै आयोगले हालसम्म २१ जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको जनाएको छ ।