काठमाडौं । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा ताप ऊर्जा ग्रहण गरेको तथ्य सार्वजनिक भएको छ । एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज जर्नलमा प्रकाशित अध्ययनअनुसार यस वर्ष महासागरहरूले करिब २३ जेटाजुल अतिरिक्त ताप शोषण गरेका छन् ।
यो परिमाण अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशतले बढी हो भने सन् २०२३ को विश्वव्यापी ऊर्जा खपतभन्दा झन्डै ३७ गुणा बढी रहेको उल्लेख गरिएको छ । ३१ वटा अनुसन्धान संस्थामा आबद्ध ५० भन्दा बढी वैज्ञानिकको संयुक्त प्रयासबाट यो अध्ययन तयार पारिएको हो ।
सन् १९५० को दशकदेखि सुरु भएको आधुनिक मापन प्रणालीअन्तर्गत यो महासागरीय तापको सबैभन्दा उच्च स्तर मानिएको छ । महासागरले लगातार नवौँ पटक ताप शोषणको नयाँ रेकर्ड कायम गरेको अध्ययनले देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार महासागरमा ताप बढ्दा समुद्री सतह उकासिने, चक्रवातहरू झन् शक्तिशाली हुने र आँधीबेहरी लामो समयसम्म एउटै क्षेत्रमा अड्किएर ठूलो क्षति पुर्याउने जोखिम बढ्छ ।
अध्ययनले महासागरीय ताप वृद्धिले सन् २०२५ मा दक्षिणपूर्वी एसियामा व्यापक बाढी, मध्यपूर्वमा खडेरी तथा मेक्सिको र प्रशान्त उत्तरपश्चिम क्षेत्रमा आएको बाढीमा महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ ।