काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।
पौडेलद्वारा जारी सूचनामा २०८२ पौष २६ गते बिहान ९ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने उल्लेख गरिएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।
कांग्रेसको संस्थापन इतर समूहले भोलिदेखि काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेपछि पार्टीभित्र चर्किएको तनावका बीच आकस्मिक बैठक बोलाइएको हो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा हुन लागेको उक्त महाधिवेशनले पार्टी विभाजनसम्मको अवस्था सिर्जना गर्न सक्ने आशंकाका कारण बैठक बोलाइएको बताइएको छ ।