काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ ।
देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो ।
पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजय बाबु शिवाकोटेले जानकारी दिए ।
मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै धमाधम अगाडि बढेका छन् । प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए ।
भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको प्रचारप्रसार समितिका सदस्य सचिव माधव चम्लागांईले बताए ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ । त्यसैले प्रतिनिधिहरू मात्र होइन, शुभेच्छुक तथा समर्थकहरू पनि राजधानी आइरहेका छन् ।
जनपरिचालन समितिका अनुसार उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ । यससँगै भृकुटीमण्डप क्षेत्र विशेष महाधिवेशन केन्द्रित राजनीतिक गतिविधिको मुख्य केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको छ ।