काठमाडौं । काठमाडौंको जहरसिंहपौवामा बुधबारसाँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पिकनिक गएर फर्केको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने करिव ५५ वर्षीय अर्जुन लामिछानेको उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सो दुर्घटनामा परेर बाँकेको कोहलपुर नगरपालिका ५ घई भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बुको मृत्यु भएको थियो । मृत्युु हुने अन्यमा सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन् ।
नेचर हाउस एन्ड हर्ब इन्टरनेशनलबाट पिकनिक गएर फर्किने क्रममा उनीहरु सवार बस सडकबाट करिव ७० मिटर तल खसेर दुर्घटना भएको थियो । ३० बढी घाइतेको विभिन्न अस्पतालमा भइरहेको जनाइएको छ ।