काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले एमडीएमएस प्रणालीभित्र व्यापक भ्रष्टाचार गाँसिएको आरोप लगाएका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा शनिबार उद्घाटन गर्दै उनले मन्त्री बनेदेखि नै एमडीएमएसबारे चासो राखेको र अध्ययन गर्दा यो प्रणाली भ्रष्टाचारको जालोमा फसेको देखिएको बताए । उनले उक्त जालो तोड्न सजिलो नभए पनि समय लागे पनि तोडेरै छाड्नुपर्ने स्पष्ट पारे ।

मन्त्री खरेलले मोबाइल व्यवसायले आर्थिक गतिविधि बढाउने मात्र नभई समाजमा सम्बन्ध जोड्ने सेतुको काम गरिरहेको उल्लेख गरे । मोबाइल व्यवसायीहरूले परिवारलाई नजिक ल्याउने र अभिभावकलाई छोराछोरीसँग संवाद गर्न सहयोग पुर्याइरहेको उनको भनाइ थियो ।
मोबाइल क्षेत्रमा लाखौं जेन–जी युवाहरू आबद्ध भई देशमै रोजगारी सिर्जना भइरहेको उल्लेख गर्दै उनले यस क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । सरकारको कार्यकाल सीमित भए पनि व्यवसायीहरूका मुद्दा सुन्न र सम्बोधन गर्न आफूहरू तयार रहेको उनले बताए ।

देशले परिवर्तन चाहिरहेको उल्लेख गर्दै मन्त्री खरेलले दैनिक दुई हजारभन्दा बढी युवाहरू विदेश जानु चिन्ताजनक भएको बताए । व्यक्ति, गुट र स्वार्थका आधारमा निर्णय गर्ने प्रवृत्तिका कारण देश पछाडि परेको भन्दै उनले मतदान गर्दा सचेत हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणालीले अन्योल सिर्जना गरेको भन्दै यसलाई या त पूर्णरूपमा लागू गर्न वा खारेज गर्न माग गरे । उनले बजारमा बिक्री भइरहेका मोबाइल र एक्सेसोरिजको गुणस्तर परीक्षण आवश्यक रहेको बताउँदै गुणस्तर र मूल्य निर्धारणको जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाए । साथै, अवैध रूपमा भित्रिने ‘ग्रे’ मोबाइलको कारोबार नियन्त्रण गर्न सरकारको ध्यान आवश्यक रहेको उनले जोड दिए ।

काठमाडौं जिल्ला अध्यक्ष सुरेश बानियाँले सेकेन्ड–ह्यान्ड मोबाइल कारोबारलाई वैध बनाउँदा राजस्व वृद्धि हुनुका साथै देशको पैसा देशमै रहने बताए । विदेशका केही मुलुकमा पुराना फोनको कारोबार वैध र पुनःप्रयोगलाई प्रोत्साहन गरिएको उदाहरण दिँदै उनले नेपालमा पनि यस्तै नीति आवश्यक रहेको बताए । साथै, स्वदेशमै उत्पादन भएका मोबाइल एक्सेसोरिजलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।
