काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शिवपुरीमा सेनाको सुरक्षाबाट फर्किएका छन् । जेनजी आन्दोलनले उग्ररुप लिएपछि भदौ २४ गते उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएर सैनिक ब्यारेक शिवपुरीमा राखिएको थियो ।
आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सरेका छन् । उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।
गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरे । एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।