काठमाडौं । नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ । निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ रहेकाे छ । भारत नयाँदिल्लीको २२३ र पाकिस्तान लाहोरको १८४ छ ।
गत मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो ।
काठमाडौंभित्र पनि शंखपार्क क्षेत्रको हावा सबैभन्दा बढी अस्वस्थ छ । वातावरण विभागका अनुसार शंखपार्कको वायु गुणस्तर सूचकांक एक्यूआई २८४ पुगेको छ ।
त्यसपछि क्रमशः रत्नपार्क, भक्तपुर, भैंसीपाटी, खुमलटार, दाङको देउखुरी, इलाम, धनगढी र रारा क्षेत्रको वायुको गुणस्तर अस्वस्थ छ । ती क्षेत्रको हावा अस्वस्थ रहेको भनेर रातो रंगले संकेत गरिएको छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।