काठमाडौं । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको हो ।
आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जनाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो ।