काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।
कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो । चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयको विरुद्धमा घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई तत्काल पुनर्स्थापना गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो ।
र्यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । सो क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो ।