काठमाडौं । राजस्थान रोयल्सले आईपीएल क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शनिबारराति सम्पन्न खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो ।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र जाेड्न सक्यो । पञ्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन बनाए । ग्लेन म्याक्सवेलले ३० रन र प्रभसिमरन सिंहले १७ रन बनाए ।
४३ रनमा ४ विकेट गुमाएको पञ्जाबका लागि नेहाल र म्याक्सवेल मिलेर ८८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । राजस्थानका जोफ्रा आर्चरले ३, महीश थिक्साना र सन्दीप शर्माले २-२ विकेट लिँए । कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकाे राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो । राजस्थानका यशश्वी जैसवालले ६७ रन बनाए भने रियान पराग ४३ रनमा अविजित रहँदा कप्तान सन्जु सामसनले ३८ रन बनाए ।
पञ्जाबका लकी फर्गुसनले २ विकेट तथा अर्शदीप सिंह र मार्को यान्सेनले समान एक विकेट लिए ।
योसँगै ४ खेलमा ४ अंक जोडेको राजस्थान अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ । तीन खेलमा पहिलो हार बेहोरेको पञ्जाब ४ अंकसहित चौथो स्थानमा झरेकाे छ ।