काठमाडौं । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि आज देशभर मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ३६ मतदान केन्द्रमा मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं केन्द्रमा ६ हजार १०२ मतदाता मध्ये ४ हजार ६४३ जनाले मत खसाल्दै ७६ प्रतिशत मतदान भएको हो ।
देशभरबाट जम्मा ९ हजार ९५७ मतदाता रहेकामा २५ पदका लागि ५७ उम्मेदवार प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा डा. विजयप्रसाद मिश्र र रमनकुमार श्रेष्ठ प्रतिस्पर्धी छन् भने महासचिवमा केदारप्रसाद कोइराला र यज्ञमणि न्यौपानेबीच प्रतिस्पर्धा छ ।
मतदान सम्पन्न भए पनि चैत २५ पछि मात्र मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
यसपटकको निर्वाचनमा सत्तापक्षीय एमाले र कांग्रेस निकट कानुन व्यवसायीहरु एकै प्यानलमा छन् भने विपक्षी गठबन्धनमा माओवादी, रास्वपा र एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरुको संयुक्त प्यानल रहेको छ ।