काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरले आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानको प्रयोजनका लागि लामिछानेलाई थुनामा राख्न आदेश दिएको हो ।
यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
यस्तै, पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ । जोशीविरुद्धको मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको हो ।
रवि लामिछानेमाथि यसअघि चारवटा सहकारी ठगी प्रकरणमा दुई करोड ७९ लाख धरौटीमा छुट दिइएको थियो । पछिल्लो आदेशपछि भने उनलाई अब थुनामा राखेर अनुसन्धान अघि बढाइने भएको छ ।
केही दिनअघि मात्र रास्वपाको सभापतिमा पुनः निर्वाचित भएका लामिछानेले सरकारमाथि कडा टिप्पणी गर्दै आफूमाथि अनुसन्धान भए जेल जान तयार रहेको बताएका थिए ।
तर, अदालतको आदेशपछि अब रवि लामिछाने थुनामा जानुपर्ने भएको छ ।