काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, भेट नेपाली समयअनुसार अपरान्ह ४ बजे हुने छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेकं) को छैटौं सम्मेलनका अवसर पारेर ओली र मोदीबीच ‘साइडलाइन वार्ता’ हुने भएकोे हो। मन्त्रालयका एक अधिकारीका अनुसार, भारतीय प्रधानमन्त्रीको दुईदेखि तीन घण्टाको समय खाली छ। सोहि समयमा नेपालकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले दुई प्रधानमन्त्रीबीचको भेटवार्ताको समय मिलाएको बताइएको छ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लामो समयदेखि भारतीय समकक्षी एस जयशंकरसँग ओली र मोदीबीच भेटवार्ताका लागि विशेष पहल गरेकी थिइन्। परराष्ट्रमन्त्री राणाकै पहलमा दुई देशका प्रधानमन्त्रीबीच शुक्रबार भेट हुने निश्चित भएको जनाइएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार ‘बिमस्टेक’ मा सहभागी विभिन्न देशका नेताहरूसँग प्रधानमन्त्री मोदीको साइडलाइन भेटवार्ता हुने भनिएको छ। त्यही सन्दर्भमा प्रधानमन्त्री ओलीसँग पनि साइडलाइन भेटवार्ता हुन सक्ने समाचारमा जनाइएको छ ।
भेटको समय छोटो भए पनि नेपाल र भारत सम्बन्धको सुदृढीकरण र आपसी हितका विषयमा छलफल हुने बताइएको छ। ‘भेटकै अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई सगरमाथा संवाद कार्यक्रमको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने समेत जनाइएको छ।
नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्दै छ। सरकारले उक्त कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा पनि भारतीय प्रधानमन्त्री मोदीलाई दिएको छ। तर, भारतीय पक्षले अहिलेसम्म मोदी आउने नआउने विषय टुंगो लगाएको छैन ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला गत असोज ६ गते न्युयोर्कमा साइडलाइन भेटवार्ता भएको थियो। बिमस्टेक सम्मेलनकै क्रममा प्रधानमन्त्री ओलीले बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग पनि शुक्रबार साइडलाइन भेटवार्ता गर्ने जनाइएको छ ।