काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। पर्सी (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा उनीहरूबीच भेटवार्ता हुने भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) को छैटौं सम्मेलनका अवसरमा ओली र मोदीबीच ‘साइडलाइन वार्ता’ हुने निश्चित भएको जनाइएको छ ।
नेपालका प्रधानमन्त्री ओली हिजै थाइल्यान्ड पुगिसकेका छन् भने भारतका प्रधानमन्त्री मोदी भोलि थाइल्यान्ड पुग्नेछन् । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । श्रीलङ्का उड्नुअघि प्रधानमन्त्री अोलीसँग भेटघाटको समय राखिएको जनाइएको छ ।
भारतका प्रधानमन्त्री मोदी अप्रिल ४ मा थाइल्यान्डबाट श्रीलङ्का प्रस्थान गर्ने कार्यक्रम छ । उनी श्रीलङ्काबाट अप्रिल ६ मा भारत फर्किने छन् । यता प्रधानमन्त्री ओली थाइल्यान्डबाट अप्रिल ५ अर्थात् चैत २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
नेपाल सरकारले आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा ुसगरमाथा संवादु कार्यक्रम आयोजना गर्दैछ। सरकारले उक्त कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा पनि भारतीय प्रधानमन्त्री मोदीलाई दिएको छ।
परराष्ट्रमन्त्री राणा राइसिना डायलगमा सहभागी हुन गत चैत पहिलो साता नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत् प्रमुख अतिथिको निमन्त्रणा दिएको स्रोतको भनाइ छ। सरकारले प्रमुख अतिथिको रूपमा मोदीलाई बोलाए पनि उनी आउने नआउने निश्चित भइनसकेको जनाइएको छ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री ओली र मोदीबीच करिब आधा घन्टा ुसाइडलाइन वार्ताु भएको थियो। परराष्ट्रमन्त्री राणाको विशेष पहलमै ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता हुन सम्भव भएको थियो।