काठमाडौं । भारतको गुजरात राज्यस्थित पटा उद्योग र गोदाममा मंगलबार भएको विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ । घटनामा ५ जना घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौँ मानिस फसेको बताइएको छ।
शुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो। घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन।
हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० उद्धारकर्मी खटिएका थिए। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ।
भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यस्ता घटनामा वर्सेनी सयौंले ज्यान गुमाउने गरेका छन् ।