काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ ।
एयर क्वालिटी इन्डेक्स’ ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ रहेको छ।
त्यसैगरी, वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्थानको लाहोर छ । त्यहाँको वायुको एक्यूआई आज १७८ छ। विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको छ ।
वातावरण विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।