काठमाडौं । पछिल्लो पटक अमेरिकाले अवैधरूपमा बसोबास गर्ने ५ जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो ।
दुई साताअघि ६ जनालाई निष्कासन गरेको अमेरिकाले अघिल्लो साता थप ५ जनालाई निष्कासन गरेको हो । निष्कासनमा पर्नेमा खड्का, ओली, चौधरी, केसी र विक थरीका एक-एक जना रहेका छन् । एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो । उनीहरू अघिल्लो साता काठमाडौं ओर्लिएका थिए ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीति परिवर्तन भएको थियो । राष्ट्रपति ट्रम्पले आप्रवसनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि धरपकड गर्दै आएको छ । पछिल्लो समय अमेरिकाले ११ जना नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याएको थियो ।