काठमाडौं । लेखक तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा आइतबारराती सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो।
केही दिनअघि घरमै लडेर अचेत भएका कोइरालालाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार राति ९ बजे कोइरालाको निधन भएको जनाइएको छ । १९९५ वैशाखमा विराटनगरमा जन्मिएका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए ।
कोइराला परिवारमा जन्मिए पनि वामपन्थी विचार बोकेका कोइरालाले जेलनेल र कठोर दिन व्यतीत गरेका थिए। छापा पत्रकारितामा लामो समय सक्रिय वरिष्ठ पत्रकार कोइरालाले २०४७ सालपछि दृष्टि साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गरेका थिए।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित भएका कोइरालाले तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूतका रूपमा समेत काम गरेका थिए । स्वर्गीय कोइरालाका एक छोरा र एक छोरी छ्न्।