काठमाडौं । ख्यमन्त्री सिंहको अनुगमन, बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहितको टोलीले मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन् । तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
सिमित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक बन्द गराइको छ ।
यसैबीच, १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालले मापदण्ड पूरा नगरी २५ शय्याभन्दा बढीको सेवा सञ्चालन गरिरहेको पाइएपछि, १५ दिनभित्र मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार सो अस्पतालमा आवश्यक आधारभूत स्वास्थ्य सेवा, एनेस्थेसिया विशेषज्ञ तथा भेन्टिलेटर सुविधा नभएको पाइएको छ।
अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्रै छोडेर अस्पताल बन्द गरी फरार भएका थिए। सोही अस्पतालमा कार्यरत भनेर आफूलाई चिनाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ । बन्दमध्ये मापदण्ड पुरा गरेका पाँच अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।