काठमाडौं । भारतमा भएको सावरी दुर्घटनामा चार नेपाली तीर्थयात्रुको मृत्यु भएको छ । थप पाँच जना घाईते भएका छन् । तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको भारतको बहराइचमा बिहीबार भएको दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ।
तुलसीपुरबाट भारतका बिचिन्न तीर्थस्थाल जाँदै गरेको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार साँझ दुर्घटना भएको हो। दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीमा सवार अन्य पाँच जना घाइते छन्। उनीहरुको बहराईकै अस्पतालमा उपचार भइरहेको जनाइएको छ।