काठमाडौंमा एकैदिन दोहोरो शक्ति प्रदर्शन, ३५ सय प्रहरी परिचालन

काठमाडौंमा एकैदिन दोहोरो शक्ति प्रदर्शन, ३५ सय प्रहरी परिचालन

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौंमा एकैदिन दोहोरो शक्ति प्रदर्शन, ३५ सय प्रहरी परिचालन

    काठमाडौं । आज काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहले फरक-फरक स्थानमा शक्ति प्रदर्शन गर्ने भएका छन् । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै तीन हजार पाँच सय प्रहरी परिचालन गरिनेछ ।

    गणतन्त्रवादी पक्षमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा सभा गर्नेछन् । उनीहरूले बबरमहलबाट माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने योजना बनाएका छन् । साथै, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, र मैतीदेवीबाट पनि जुलुस निकालिनेछ ।

    यता, राजसंस्था पुनःस्थापनाका लागि नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले तीनकुनेमा प्रदर्शन गर्नेछन् ।

    यी दुई समूहको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित मुठभेड रोक्न काठमाडौं प्रहरी परिसरले सादा पोशाकका सुरक्षाकर्मी समेत परिचालन गर्ने तयारी गरेको छ । काठमाडौं परिसर प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा प्रहरी परिचालन हुनेछ । तीनकुनेतर्फ बानेश्वर र गौशाला वृत्तका डीएसपीहरू खटाइनेछन् भने प्रदर्शनीमार्गतर्फ जनसेवा, दरबारमार्ग, र सिंहदरबार वृत्तका डीएसपीहरू खटिने छन् ।

    सुरक्षा रणनीति अनुसार, राजावादी समूहलाई सकभर रिङरोडमै सीमित गर्ने योजना बनेको छ । भक्तपुरबाट आउने प्रदर्शनकारीलाई तीनकुनेमै रोक्ने तयारी गरिएको छ भने समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वर हुँदै बालकुमारीतर्फ डाइभर्ट गरिनेछ ।

    गृह मन्त्रालयका अनुसार, शान्ति सुरक्षामा कुनै सम्झौता गरिने छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार, शुक्रबार हुने सम्भावित चुनौतीलाई ध्यानमा राख्दै आवश्यक परे थप सुरक्षाकर्मी पनि परिचालन गरिनेछ ।

    यसैबीच, ट्राफिक व्यवस्थापनका लागि १,८०० ट्राफिक प्रहरी परिचालन गरिनेछ। प्रहरीले प्रदर्शनमा सहभागी सबैलाई शान्तिपूर्ण रूपमा अघि बढ्न आग्रह गरेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij