काठमाडौं । शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको छ । १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो ।
८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ । कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको जनाइएको छ ।
यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक रहेकाे छ ।
त्यस्तै, यो वर्ष तीन वटा अतिरिक्त विषयको नयाँ पाठ्यपुस्तक छपाइ भएको छ । जसमा अतिरिक्त गणित, अर्थशासास्त्र र कम्प्युटर साइन्सको किताब छपाइ भएको हो । अतिरिक्त तीन वटा विषय कक्षा ९ को हो ।
पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्याउने गरी केन्द्रले तालिका बनाइएको जनाइएको छ ।
कोशी प्रदेशमा १३ चैतदेखि २ वैशाखसम्म पुस्तक वितरण तालिका रहेको छ भने मधेश प्रदेशमा१७ चैतदेखि चैत मसान्तसम्म रहेको छ । यस्तै, बागमती प्रदेशमा चैत १७ देखि १ वैशाखसम्म र गण्डकी प्रदेशमा १३ चैतदेखि चैत मसान्तसम्म रहेको छ ।
यसैगरि, लुम्बिनी प्रदेशमा १३ चैतदेखि २८ चैतसम्म, कर्णाली प्रदेशमा १२ चैतदेखि २४ चैतसम्म र सुदूरपश्चिम प्रदेशमा १७ चैतदेखि चैत मसान्तसम्म रहेको छ ।