आफ्नै देवरले गरे भाउजुको हत्या, दाजु घाइते

आफ्नै देवरले गरे भाउजुको हत्या, दाजु घाइते

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • आफ्नै देवरले गरे भाउजुको हत्या, दाजु घाइते

    काठमाडौं । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।

    राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे जनाइएको छ । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको छ। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

    रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो । मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।

    दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।

    राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij