काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन ।
त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।
त्यसपछि सूचना टाँस गरेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।