काठमाडौं । पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले सो व्यवस्था गरेको छ ।
त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको जनाइएको छ । मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।
सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए । त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।