भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरी वृत्त, गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।

    दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर एक महिना अघिबाटै अनुसन्धान गरिरहेको भए पनि हालै मात्र थाहा भएको हो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेको खुलेको छ ।

    प्रहरीका अनुसार, अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा १४ माघ २०८० मै प्रहरी कहाँ जाहेरी परेको थियो । त्यसबेलै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएपनि आरोपीहरु पक्राउ परेका थिएनन् ।  

    शिवाकोटी दम्पत्तीले ११ वैशाख २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेर ७ लाख रुपैयाँ नगद बुझेका थिए । त्यसको केही समयपछि ५ लाख बुझाएपछि एक हप्ताभित्र काम हुने भनेको जाहेरीमा उल्लेख छ ।

    पछि शिवाकोटीको इसेवा र उनकी श्रीमतीको खातामा थप नगद समेत पठाएको उल्लेख छ । सबै गरेर जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाएपछि शिवाकोटीले अमेरिका जान ४५ लाख रुपैयाँ खर्च हुन्छ भनेको जाहेरीमा उल्लेख छ ।

    शिवाकोटीले आलटाल गर्न थालेपछि ठगिएको महसुस भएर रकम फिर्ता माग्दा विभिन्न किसिमका धम्की समेत दिइएको थियो । प्रहरीले यो मामलामा अनुसन्धान गरेर १५ लाख ७६ हजार रुपेयाँ बराबरको क्षतिपूर्ति समेत दिलाउन मागदाबी गर्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

    आइतबार दर्ता भएको मुद्दामाथि आज (सोमबार) बाट अदालतमा थुनछेक बयान र बहस हुँदैछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij