काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ ।
तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।
तिनमायाले काम नगर्ने भनी सधैं गाली मात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरले स्वीकार गरेका छन् ।
उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरी टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् । सुकबहादुरलाई जिल्ला अदालतमा पेश गरी पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।