काठमाडौं । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सोमबारदेखि थुनछेक बहस हुने भएको छ । सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
आइतबार लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
हाल लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएकाे छ ।
रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको छ ।
यस्तै सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।