काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । जंगम वरिष्ठ संगीतकार समेत हुन् ।
साई स्वागत सहकारीकी निवर्तमान अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता दाहाल हुन् ।
जंगमसहित उपाध्यक्ष पौडेल र अन्य पदाधिकारीहरुलाई रकम अपचलन गरी सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरुको सञ्चालक समिति बनाएर बाहिरिएको आरोप छ ।
जंगमलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सहकारीको निक्षेप अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर अदालतबाट म्याद लिइएको प्रहरीले जनाएकाे छ । अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।