चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन नसकेपछि महानगरले स्वामित्व लिएको उक्त रंगशाला निर्माणको भैतिक प्रगति करिब २० प्रतिशत पुगेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिएका हुन् ।
धुर्मुस सुन्तली फाउण्डेसनले आफूहरुलाई ऋण लागिसकेकाले निर्माण कार्य अब अगाडी बढाउन नसक्ने भन्दै महानगरलाई रंगशालाको स्वामित्व लिन अनुरोध गरेकाे थियोे । सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै महानगरले रंगशाला निर्माणको जिम्मा आफैं लिएको थियो ।
महानगरले रंगशालाको जिम्मा लिएपछि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको त्रिपक्षीय लागत साझेदारीमा निर्माणको कार्य अगाडि बढाउन यही असारमा सम्झौता गरेको थियो । ३० महिनाको अवधिमा निर्माण सक्नेगरी महानगरले भ्याटसहित ७८ करोड रुपैयाँमा हिमालयन कालिञ्चोक बीबीआर जेबीसँग सम्झौता गरेको थियो ।
सम्झौता भएको करिब ५ महिनामा २० प्रतिशत भौतिक प्रगति देखिएको अधिकृत पौडेलले बताए । यही हिसाबले कामहुँदै जाँदा निर्धारित ३० महिनाको समयमा नै कार्य सम्पन्न हुने अपेक्षा गरिएको समेत उनले जानकारी दिए ।
१५ हजार दर्शक अटाउन सक्ने उक्त रंगशालामा प्याराफिट र टावर बिल्डिङसहितका संरचना छन् । अन्तर्राष्ट्रिय मापदण्डहरु सबै पुरा गरेर बनाइएको हुनाले उक्त रंगशालामा अन्तर्राष्ट्रिय लिगहरुको आयोजनासमेत गर्न सकिने पौडेलले बताए ।
अहिले निर्माण कार्यको पहिलो चरणमा रहेको हुँदा १५ हजार मात्रै दर्शक अट्ने भएतापनि दोस्रो चरणको निर्माण कार्य सकिँदासम्म रंगशाला ३० हजार दर्शक अट्ने क्षमताको बन्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले दाबी गरे ।
भरतपुर महानगरसँग सम्झौता गरेर आएपछि पुरानो संरचनालाई नै पहिले कार्य गर्नुपरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण आयोजनाका प्रोजेकट म्यानेजर विरन्द्र कुमार यादवले बताए । आफूले काम सुरु गर्दा पुरै जंगलजस्तो रहेको उक्त संरचनाहरु सरसफाइ गर्दा अहिलेको अवस्थामा आएको उनले दाबी गरे ।
आफूले जिम्मेवारी पाएको करिब एक महिना नै सरसफाइको काम गरिएको यादवले बताए । चउर र संरचनामा समेत घाँस उम्रिएको हुँदा त्यसलाई सफा गरिएको र थुप्राएर राखिएको माटो र ढुंगा हटाएपछि मात्र अन्य कार्यहरु सुरु गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर बनाइएको उक्त रंगशालामा टी–२० र ओडीआई खेलको अन्तर्राष्ट्रिय लिगसमेत खेल्न सकिने छ । तर, रेन्ज नपुग्ने हुँदा टेस्ट म्याच भने त्यहाँ सञ्चालन गर्न सकिँदैन ।
पहिले निर्धारण गरको डिजाइन अनुसार नै आफूले निर्माण कार्यहरु अगाडि बढाएको हुँदा टेस्ट म्याचको योग्य नबनाउनुमा आफूहरुको गल्ती नभएको यादवले दाबी गरे ।
आफूहरुले तोकिएको मापदण्डअनुसार नै काम गर्दै गएको र तोकेको समयभन्दा अगाडि नै सक्ने प्रयास गरिरहेकोसमेत उनले दाबी गरे ।