काठमाडौं । हनी ट्र्याप प्रकरणमा रकम असुली गरेको आरोप लागेकी निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर भएकी छन् । प्रहरी निरीक्षक शाही आइतबार जिल्ला अदालत ललितपुरमा हाजिर भएकी हुन् ।
अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित निरीक्षक शाही अदालतमा उपस्थित भएको पुष्टि गरेका छन् । उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस शुरु हुने पनि प्रवक्ता महतोले जानकारी दिए ।
प्रहरी प्रभाग भैँसे पाटीको इन्चार्ज रहेका बेला हनी ट्र्यापको माध्यमबाट रकम असुली गरेको आरोप शाहीमाथि लागेको थियो । यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यसअघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख रुपैयाँ धरौटीमा र भीमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो ।
निलम्बित शाही र अर्का एक जना पुरुष फरार रहेका थिए । प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो । घटनाबारेमा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो । उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो ।