काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका काठमाडौं नैकाप बस्ने ३६ वर्षीय रमेश भट्ट कुटिएका हुन् । युवकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जनालाई पक्राउ गरेको छ ।
बारमा कुटपिट भएको घटनाको सिसिटिभी फुटेजमा देखिएअनुसार रमेश ३ बजेर १३ मिनेटमा शौचालयबाट निस्किएको देखिन्छ । उनी शौचालयबाट निस्किएलगत्तै एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरेका थिए । त्यसपछि अरूले मुक्का प्रहार गरेका थिए । होटलकै केही स्टाफले छुटाउने प्रयास गरे पनि धेरैबेरसम्म भट्टमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट घाइते भएका भट्टको टाउकोमा चोट लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ । यस घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरीको टोली खटिएका थिए । अनुसन्धानको क्रममा गुण्डागर्दी गर्ने समूहको पहिचान भएको थियो । त्यसपछि परिसरको टोलीले शनिबार बिहानै काठमाडौंको विभिन्न होटलमा सुतिरहेकै अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।
सिसिटिभी फुटेज तथा होटलका कर्मचारीहरूसँग सोधपुछ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
पक्राउ पर्नेमा प्रमुख व्यक्ति कुलध्वज तामाङ छन् । काभ्रेको रोशी गाउँपालिका-४ घर भई काठमाडाैंको सुन्दरटोल बस्ने ३५ वर्षीय तामाङ तरूण दलका केन्द्रीय सदस्य हुन् । उनकै समूहले केही समयअघि दरबारमार्गमा रहेको क्लब प्लेटिनममा पनि कुटपिट गरेका थिए । उनीविरूद्ध २०६९ मा दरबारमार्गबाट ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने २०७२ मा डाँका चोरी मुद्दामा पनि ११ महिना धुलिखेल कारागारमा बसेर छुटेका थिए ।
जावलाखेलमा हतियार नै प्रहार गरेको घटनामा ललितपुर परिसरबाट मुद्दा चलेको थियो । काभ्रेकै तिमाल-७ घर भई काठमाडौंको स्वयम्भु बस्ने २९ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन् । उनी इजुमेन कन्सल्टेन्सी बागबजारमा काम गर्छन् । त्यस्तै पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति हुन् ।काभ्रे भुम्लु गाउँपालिका कार्यपालिका सदस्य एवं पालिकाको तरूण दल अध्यक्ष ३९ वर्षीय सुलभ पहरी पनि पक्राउ परेका छन् । तरूण दल काभ्रेकै जिल्ला सदस्य २९ वर्षीय युवराज लामा, मोरङ घर भई ललितपुरको थेचो बस्ने ३७ वर्षीय डम्बरबहादुर कार्की, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर-८ बस्ने २७ वर्षीय दावा तामाङ पक्राउ परेका हुन् । उनी जुगल गाउँपालिका तरूण दलका अध्यक्षसमेत हुन् । त्यस्तै काभ्रेकै २१ वर्षीय शक्ति लामा पनि पक्राउ परेका छन् । उनी भने बौद्ध तामाङ गुम्बामा पढ्ने गर्थे ।