फोहोरलाई व्यवसायीकरण गर्न पैरवी गरिरहेको नेप्सेम्याक (भिडियाे)

फोहोरलाई व्यवसायीकरण गर्न पैरवी गरिरहेको नेप्सेम्याक (भिडियाे)

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • फोहोरलाई व्यवसायीकरण गर्न पैरवी गरिरहेको नेप्सेम्याक (भिडियाे)

    भक्तपुर । नेपालका जनघनत्व धेरै भएका अधिकांश स्थानमा फाहोरमैला ‘स्थायी’ समस्याकै रुपमा स्थापित भएको छ । विभिन्न पहलका बाबजुद पनि दशकौंदेखि काठमाडौं उपत्यकाका प्रायः स्थानीय तहमा फाहोरमैला ब्यवस्थापनमा समस्या देखिँदै आएको छ । 

    नागरिक तह र सरकारी तहबाट विभिन्न प्रयासका बाबजुद सुल्झिन नसकेको फोहोरमैला व्यवस्थापनका समस्या समाधान गर्न स्थायी बाटो अपनाइरहेको संस्था हो नेप्सेम्याक । २०५४ सालमा नै स्थापना भएर फोहोरमैलालाई न्यूनिकरण र ब्यवस्थापन गर्ने कार्यमा विभिन्न कदमहरु अपनाइरहेको नेप्सेम्याक स्थापनाको २७औं वर्षमा पनि नीतिनियमको अस्पष्टता, पूर्वाधारको अभाव लगायतका समस्यासँग उल्झिरहेको छ । 

    स्थापनाकालबाटै ‘फोहोरबाट मोहोर’ भन्ने अवधारणालाई अगाडि बढाएको उक्त संस्था हालैसम्म पनि फोहोरलाई व्यवसायीकरण गर्न पैरवी गर्दै आइरहेको छ । 

    पहिले अभियानका रुपमा सुरु गरिएको नेप्सेम्याक अहिले व्यवसायका रुपमा नै स्थापित भइसकेको छ । पहिले बाटोमा फालिएको फोहोर सरसफाइबाट सुरु गरिएको नेप्सेम्याक हाल व्यवसायीक रुपमा नै सञ्चालन गरिएको संस्थाका अध्यक्ष टिकाराम दाहालले जानकारी दिए । 

    आफूले उत्पादन गरेको फोहोरको व्यवस्थापन आफैंले गर्नुपर्ने भन्ने सचेतना जगाउन सुरु गरिएको नेप्सेम्याक हाल ५०० जना कामदारलाई रोजगारीको अवसर सिर्जना गर्दै फोहोर व्यवस्थापनमा होमिएको दाहालले बताए । 
    संस्थाले यही भेगमा मात्र काम गर्ने भनेर नतोकि, आवस्यक परेको सबै स्थानलाई आफ्नो कार्यक्षेत्र बनाएर अगाडि बढिरहेको उनले बताए । 

    नेप्सेम्याकले हाल काठमाडौं उपत्यकाका १८ मध्ये ११ स्थानीय तहमा काम गरिरहेको छ । उपत्यका बाहिरको धुलिखेल नगरपालिकामा पनि नेप्सेम्याकले फोहोरमैला व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको छ । 

    ‘३ आर’ अर्थात् रिड्युस, रियूज र रिसाइकल को अवधारणालाई पछ्याउँदै नेप्सेम्याकले फाहोर कम उत्पादन गर्न सचेतना फैलाइरहेको छ । र, एकपटक प्रयोग गरिसकेको सामानलाई पुनः प्रयोग गरेर घरायसी साथै औद्योगिक फोहोरलाई न्यूनीकरण गर्न विभिन्न विधिहरु सुझाउँदै आएको छ । साथै, आफैंले पनि फोहोरलाई जैविक मलमा रुपान्तरण गरेर उदाहरण दिँदै आएको छ । 

    नेप्सेम्याकले हाल दैनिक ४०० टन फोहोर संकलन गर्दै आएको छ । फाहोरलाई वर्गीकरण गरेर त्यसमध्ये करिब ४–५ प्रतिशत कुहिने फोहोरलाई कम्पोस्टिङ गर्ने गरेको अध्यक्ष दाहालले जानकारी दिए । पुनः प्रयोग गर्न सकिने अन्य २०–२२ प्रतिशत फोहोर पुनः प्रयोग केन्द्रमा बिक्री वितरण गर्ने गरेको उनले जानकारी दिए । बाँकी रहेको फोहोर भने नेपाल सरकारले तोकेको बन्चरेडाँडामा लगेर विसर्जन गर्ने गरेको उनले बताए । 

    कुहिने फोहोरलाई नेप्सेम्याक आफैंले कम्पोस्टिङ गर्ने गरेको छ । संस्थाले हाल सदर चिडियाखानाभित्र अधिकांश कुहिने फोहोरलाई मलमा रुपान्तरण गर्न कम्पोस्टिङ गर्ने गरेको छ । साथै, दक्षिणकाली नगरपालिकाको चाल्नाखेल र सूर्यविनायक नगरपालिकास्थित साँगामा पनि नेप्सेम्याकले कम्पोस्टिङ गर्दै आएको छ । 

    कम्पोस्टिङका लागि संस्थाले कुनै नयाँ प्रविधि प्रयोग नगरी पुरानै विधि अर्थात् इएम झोलको नै प्रयोग गर्ने गरेको अध्यक्ष दाहालले बताए । ‘परम्परागत शैलीबाट नै पल्टाउने, कुहाउने आदि विधिबाट नै कम्पोस्टिङ गर्ने गरेका छौं ।’, उनले भने । जहाँ जति कम्पोस्टिङ गरेपनि अन्य तत्व पुरा गर्ने लगायतका कार्यका लागि भने चाल्नाखेल नै लैजाने गरेको र प्याकिङ पनि सोही स्थानबाटै गर्ने गरेको उनले जानकारी दिए ।

    उपत्यकाका १८ स्थानीय तहमा हाल दैनिक १५०० टन फोहोर उत्पादन हुन्छ । अहिले निजी क्षेत्रका करिब ८० संस्थाले फोहोर व्यवस्थापनको कार्य गर्दै आएको छ । सबैले कम्पोस्टिङ, पुनः प्रयोग आदिमा काम नगरेतापनि कोहीले संकलन मात्र गर्ने या त्यस्तै अन्य गतिविधिबाट फोहोर व्यवस्थापनमा सहयोग पुर्याउँदै आएको दाहालले बताए । ती सम्म हेर्दा करिब ८० प्रतिशत नै फोहोर व्यवस्थापनको कार्य नीजि क्षेत्रले ओगटेको उनले बताए । 

    नेप्सेम्याकले मात्रै काठमाडौं, भक्तपुर र ललितपुरको ११ नगरपालिकाका ६० वडालाई कार्यक्षेत्र बनाएको उनले जानकारी दिए । केही स्थानमा भने वडाको केही भेगमा मात्र कार्य गरेको र कतै अन्य संस्थासँगको सहकार्यमापनि काम गरिरहेको उनले जानकारी दिए । समग्र उपत्यकाको ३० प्रतिशत फोहोरमैला व्यवस्थापनको कार्य भने नेप्सेम्याक एक्लैले गरेको उनले दाबी गरे ।

    नेप्सेम्याक लगायतका संस्थाले वर्षौँदेखि कार्यहरु गर्दै आएको भएतापनि फोहोरमैलाको समस्या समाधान नहुनुमा अध्यक्ष दाहाल अस्पष्ट नीति र पूर्वाधारको कमीलाई प्रमुख कारण देखाउँछन् । 

    नीति नियमले फोहोरमैलाको विषयलाई उचित सम्वोधन गर्न नसक्नाले हाल समस्या समाधान गर्न नसकिएको उनले दाबी गरे । पहिले फोहोरमैल व्यवस्थापन ऐन २०६८ र नियमावली २०७० अन्तर्गत फोहोरमैला व्यवस्थापनका कार्यहरु हुने गरेका थिए । तर, संघियता लागू भएपछि उक्त जिम्मेवारी स्थानीय तहलाई दिँदा समस्या आइरहेको उनले बताए । सबै स्थानीय तहले आफैंले नियम बनाउने पाउने अधिकार रहेको हुँदा समन्वयमा नै समस्या आइरहेको उनले बताए । 

    सरकारले उचित नीति बनाउँदै गर्दा पनि पूर्वाधारको कमी पनि समस्याका रुपमा देखा पर्न सक्ने उनले बताए । ‘नीति बनेको खण्डमा नेप्सेम्याकले विभिन्न नीजि क्षेत्रसँग समन्वय गरेर ८० प्रतिशत सम्म फोहोरको समस्या समाधान गर्न सक्छ । तर, त्यसका लागि पूर्वाधारको भने अभाव हुन जान्छ ।’, उनले भने । पूर्वाधार भन्दैमा विभिन्न उपकरणको आवश्यकता नभएतापनि फोहोर कम्पोस्टिङका लागि जग्गाको भने आवश्यकता पर्ने उनले बताए । ‘अहिले ठूलो विधिमा जान आवश्यक छैन । फोहोरलाई कम्पोस्टिङ गरौं, बायोग्यास उत्पादन गरौं । बायोग्यासँगै मल पनि उत्पादन हुन्छ । बायोग्यासबाट बिजुली पनि निस्किन्छ ।’, उनले भने । 

    साथै, फोहोरमैला व्यवस्थापनका लागि समय धेरै लाग्ने हुँदा कम्तीमा २० वर्ष जतिको सम्झौता सरकारले गरिदिएको खण्डमा सुरुवातदेखि नै राम्रोसँग काम गर्दै जान सकिने उनले दाबी गरे । र, फोहोर व्यवस्थापनमा काम गरेको योग्यतालाई देखाएर वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाईपनि अन्त्य गर्न करिब ५ वर्षजतिको सम्झौता गरेर काममा राख्ने लगायतका कार्यहरु गर्न आवश्यक रहने उनले बताए । 

    सरकारले नीतिनियम बनाएर साथै पूर्वाधार उपलब्ध गराएर नेप्सेम्याक जस्ता संस्थालाई प्रोत्साहन गर्नुपर्ने धारण अध्यक्ष दाहालले व्यक्त गरेका छन् । साथै, व्यवस्थापनका कार्यहरु पनि नियमसंगत भए–नभएको, मापदण्ड पूरा भए–नभएको अनुगमन र निगरानीसमेत सरकारले गर्न जरुरी रहेको उनले बताए  । 

    फोहोर आम्दानीको एउटा स्रोत हो । कुहिने फोहोरलाई कम्पोस्टिङ गरेर मल बनाउन सकिन्छ । त्यसले गर्दा रासायनिक मललाई पूर्णरुपमा विस्थापन गर्न नसकेपनि केही हदसम्म प्रतिस्थापन गर्न सकिन्छ । प्लास्टिकका बोतल लगायतका फोहोरबाट गुडियाहरु बनाउन सकिने र पुनः प्रयोग गर्न नमिल्ने चाउचाउ, बिस्कुटका खोलहरु विभिन्न कारखानामा इन्धनका रुपमा प्रयोग गर्न सकिने भएकाले फोहोर व्यवस्थापन पर्यावरणसँगै आर्थिक सुदृढिकरका लागि समेत फाइदाजनक हुने धारणा नेप्सेम्याकका अध्यक्ष दाहालको छ । 

    ती सबैका लागि सरकारले नीतिगत रुपमा मात्र नभएर व्यवहारिक रुपमा नै फोहोर व्यवस्थापनमा लागिरहेका नेप्सेम्याकजस्ता संस्थालाई सहज हुने किसिमका नियम कानुन बनाउनुपर्ने उनले दाबी गरे । 

    नेप्सेम्याक आफैंले पनि संयन्त्र पुगेको खण्डमा अन्य संस्थाहरुसँगको साझेदारीमा १५०० टन फाहोरमैला व्यवस्थापन गर्न सक्ने उनले दाबी गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij