ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

    गोलबजार । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा ५ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

    शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित ५ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा  ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए । 

    भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको २ लाख रुपैयाँ रिचार्ज कार्ड, नगद ५० हजार रुपैयाँ गरी ५ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए । उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत २ लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।

    इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij