काठमाडौं । भारत स्थित एक घनाढ्यको घरमा काम गर्न बसेका नेपालीहरूले ठूलो धनराशी चोरी गरी नेपाल आउँदै गरेका उनीहरू नेपाल प्रहरीको फन्दामा परेका थिए । तिनै नेपालीलाई भारतीय प्रहरीले आफ्नो जिम्मा लगाउन भारतीय दूतावासमार्फत कैलाली प्रहरीलाई दबाब दिइएको हो । घर मालिकलाई थुनेर कुटपिट गरी हातखुट्टा बाँधेर एक करोड भन्दा बढी धनमाल लुटपाट गरी नेपाल आएको समूहलाई भारतले कारबाहीका लागि उतै फिर्ता गराउन दबाब दिएको हो ।
‘धनमालसहित नेपाल आएका तीन नेपालीलाई भारतीय प्रहरीले कानुनी कारबाहीका लागि माग गरेको छ’, कैलालीबाट एक प्रहरी अधिकृतले भने ‘कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोड रूपैयाँभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित पक्राउ परेका तीन जना नेपालीलाई कानुनी कारबाहीका लागि भारतीय प्रहरीले दूतावासमार्फत माग गरेको हो ।’
उनीहरुलाई गत साता सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरी आवश्यक कारवाही लागि नेपाल प्रहरीलाई बुझाएको थियो । भारतको एक घरमा काम गर्न बसेका ती नेपालीहरूले चोरी गरी नेपाल आउने क्रममा सशस्त्र प्रहरीले एक साताअघि पक्राउ गरेको थियो । भारतको फरिदावादस्थित वीरेन्द्र प्रसादको घरमा चोरी गरी नेपाल आएको बेला उनीहरू पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार रहेका छन् ।
फरिदावाद चौकीमा दिएको उजुरी अनुसार घरमा वीरेन्द्रप्रसाद र उनकी श्रीमती मात्रै रहेको बेलामा हातखुट्टा बाँधेर चोरी गरी उनीहरू फरार भएका थिए । घर मालिकका छोराहरू बिहेमा गएको बेला घरमा रहेका बूढाबूढीलाई हात खुट्टा बाँधेर लुटपाट गरेर उनीहरू नेपाल छिरेका थिए । उनीहरू त्यही घरमा कामदारको रुपमा कार्यरत रहेका थिए ।

आफै काम गर्न बसेको घरमा लुटपाट गरेपछि उनीहरू नेपालतर्फ आएका थिए । नेपाल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले कौवाखेडाबाट पक्राउ गरी नेपाल प्रहरीलाई सामानसहित बुझाएको छ । भारतबाट आएका उनीहरूको साथबाट ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ रूपैयाँ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद गरिएको थियो । ‘चोरीको सामान लिएर नेपाल आइरहेको बेलामा सशस्त्र प्रहरीले पक्राउ गरी थप अनुसन्धान लागि नेपाल प्रहरीलाई बुझाएको छ, यसको बारेमा प्रहरीलाई बढी जानकारी हुनेछ, कानुनी कारवाही पनि उतैबाट हुन्छ’, सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने ।
उनीहरू नेपालमा पक्राउ परेको थाह पाएपछि भारतीय प्रहरीले समानसहित मानिस फिर्ता गर्न आग्रह गरेको थियो । भारतबाट सामान र मानिस लिन भारतीय प्रहरी आएको भएपनि नेपाल प्रहरीले नेपालकै कानुन अनुसार कारवाही हुने भन्दै फिर्ता गर्न अस्वीकार गरेपछि दूतावासमार्फत प्रहरीलाई दबाब दिइएको बताइएको छ । भारतीय प्रहरीले नेपालस्थित भारतीय राजदूतावासलाई पत्राचार गरी मानिस र सामान दुवै फिर्ता गर्न नेपाल प्रहरीसँग सहजीकरण गर्न आग्रह गरेको छ ।