काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने भन्दै वास्तविकतामा टेकेर गर्न सुझाएका छन् ।
वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको उनको भनाइ थियो ।
उनले भने, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ । फ्री भिसा, फ्री टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन । मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ । म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रियल डिसिजन राम्रो हुन्छ । त्यसबाट रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ । यो किन भनेको भने फ्री टिकट, फ्री भिसा भनेको छ । त्यो फ्री टिकट, फ्री भिसा त हामी नेपालीको मात्रै त होइन नि । बंगलादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रीमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ?’
सरकारबाट दिइने तालिमहरूले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने ढकालको धारणा थियो ।