काठमाडौं । सन् २०२४ मा १०४ जनाको हत्या भएको छ । इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्ट्स (आईएफजे) ले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कार्यस्थलमा खटिएका बेला उनीहरूको हत्या भएको हो । यसरी मारिनेमा १२ जना महिला छन् ।
आईएफजेको प्रतिवेदनमा सबैभन्दा धेरै ६६ जना पत्रकार मध्यपूर्वमा मारिएका छन् । त्यसमा पनि गाजामा ५५ पत्रकार मारिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी लेबनानमा ६ र सिरियामा १ जना पत्रकार मारिएका छन् ।
२०२३ अक्टोबर ७ देखि सुरु भएको इजरायल-प्यालेस्टाइन युद्धमा अहिलेसम्म १३८ पत्रकार ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । यो तथ्यांकले गाजा आधुनिक पत्रकारिताको इतिहासमा सबैभन्दा खतरनाकमध्ये एक देखिएको छ । इराक, फिलिपिन्स र मेक्सिकोजस्ता देशसँगै प्यालेस्टिन पनि पत्रकारका लागि असुरक्षित देशको सूचीमा परेको छ । गाजा युद्ध सुरु हुनुअघि ल्याटिन अमेरिका, विशेषगरी मेक्सिको पत्रकारका लागि विश्वकै सबैभन्दा खतरनाक क्षेत्रहरूमध्ये एक थियो ।
एसिया-प्रशान्त क्षेत्रमा २०२४ मा २० पत्रकार मारिएका छन् । दक्षिण एसियामा हिंसात्मक घटना वृद्धिका कारण पनि पत्रकारले ज्यान गुमाउनुपरेको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तानमा ६, बंगलादेशमा ५ र भारतमा ३ पत्रकारहरूको हत्या भएको छ ।
म्यानमारको सैनिक शासनले पत्रकारहरूलाई निसाना बनाउने क्रम जारी राखेको छ । म्यानमारमा यस वर्ष ३ पत्रकारको हत्या भएको छ । इन्डोनेसिया र कजाकस्तानमा पनि एक-एक पत्रकारको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रमा सन् २०२३ मा १२ र २०२२ मा १६ पत्रकार मारिएका थिए ।
सन् २०२४ मा २०२४ मा अफ्रिकामा ८ पत्रकारको हत्या भएको छ । अफ्रिकामा २०२२ मा ४ र २०२३ मा ९ पत्रकारको हत्या भएको थियो । यस वर्ष सबैभन्दा धेरै पत्रकार सुडानमा मारिएका छन् । सुडानमा विनाशकारी युद्धका कारण पाँच पत्रकारको ज्यान गएको छ । यसैगरी सोमालियाका दुई र चाडका एक पत्रकारले पनि जीवन गुमाएका छन् ।
अमेरिकामा २०२४ मा ६ पत्रकारको हत्या भएको छ । यसमध्ये पाँच जना मेक्सिकन र एक जना कोलम्बियाली छन् । युक्रेन युद्धका कारण युरोपमा २०२४ मा ४ पत्रकारको हत्या भएको छ ।
आईएफजेले ५२० पत्रकारहरू जेलमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । १३५ पत्रकारलाई जेलमा राखिएका कारण चीन पत्रकारका लागि विश्वकै सबैभन्दा ठूलो जेल बनेको छ । यसपछि इजरायलमा ५९ र म्यानमारमा ४४ पत्रकार जेलमा छन् ।
आईएफजेका महासचिव एन्थनी बेलान्जारले अधिकांश घटनामा द्वन्द्वरत पक्षले जानेबुझेर पत्रकारको ज्यान लिएको बताएका छन् । केही पत्रकार भने आफ्नै गल्तीले युद्धमा फस्दा ज्यान गुमाउन बाध्य भएको उनले बताए । उनले यस्ता तथ्यांकबाट विश्वमा प्रेस स्वतन्त्रता कमजोर र पत्रकारिता पेसा जोखिमपूर्ण रहँदै गएको देखिएको बताए ।
उनले भने, ‘विश्वभर अधिनायकवादी शासन विकसित हुँदैछन् । त्यस्तो अवस्थामा आम जनताको सूचना आवश्यकताको महत्त्व झनै वास्तविक बनेको छ । हाम्रो पेसाबाट अझ बढी सतर्कता आवश्यक छ ।’ उनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई पत्रकारहरूको सुरक्षासम्बन्धी बाध्यकारी अभिसन्धि अपनाउनका लागि कदम चाल्न आग्रह गरेका छन् ।