काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहात निकायका केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।
ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा. रुद्र मरासिनीलाई हटाएर डा. रिजाललाई जिम्मेवारी दिइएको हो । यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । डा. मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन् ।
यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापा टेकु अस्पताल सरुवा भएकी छिन् ।
त्यस्तै, व्यवस्थापन महाशाखाका डा. सुरेन्द्र चौरसियालाई भने उपचारात्मक महाशाखा पठाइएको छ । व्यवस्थापन महाशाखामा मन्त्रालयको समन्वय महाशाखामा कार्यरत दयाकृष्ण पन्तलाई जिम्मेवारी दिइएको छ ।