काठमाडौं । कपिलबस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
कपिलवस्तु शुद्धोधन गाउँपालिका –३ गुलरीस्थित तौलिहवा–भैरहवा सडकखण्डमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र बिपरित दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र लु. ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
कारमा सवार प्युठान पकाला –७ का ४३ बर्षीय निमबहादुर सारुको मेडिकल कलेज भैरहवामा र कार चालक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका –४ हरीहरपुरका ४५ वर्षिय ईन्द्रबहादुर सार्कीको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका चार जनामध्ये तीनजनाको सिद्धार्थ नगर सिटि हस्पिटल भैरहवा र १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ७ जनाको लबनीस्थित अल्सेक अस्पताल उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।