काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गठन भएको समितिले ४० जनाको नाम छनोट गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठकले दाबेदारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले १५६ आवेदकमध्येबाट छानको ४० जनाको छोटो सूची सार्वजनिक गरेको छ । जसमा ८ जना अध्यक्षका इच्छुक व्यक्ति हुन् भने अन्य सदस्य बन्न चाहने व्यक्तिहरू हुन् ।
समितिले सार्वजनिक गरेको अध्यक्षको सूचीमा अच्युतप्रसाद भण्डारी, काशिराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापती, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी रहेका छन् । भण्डारी र सिंजापतीको आवेदन अध्यक्ष र सदस्य दुवैका लागि छ ।
सिफारिस समितिले सार्वजनिक गरेका नामबारे उजुरी आह्वान पनि गरेको छ । प्रकाशित नामबारे पाँच दिनभित्र कानुन न्याया तथा संसदीय मामिलामा रहेको समितिको सचिवालयमा उजुरी दर्ता गर्न सकिनेछ ।
