बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिँदै

    म्याग्दी । बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ ।

    किराखोर– नेप्टेचौर– तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग १० करोड १६ लाख १ हजार ३ सय ६४ रुपैयाँमा मङ्गलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो । निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ ।

    मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ । यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो । प्रदेश सरकार र बेनी नगरपालिकाको खर्चमा यसअघि बेनी– किराखोर छ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

    चालु आर्थिक वर्षमा बेनी नगरपालिकाबाट विनियोजन भएको ३ करोड रुपैयाँ सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताए । 

    प्रदेश सरकारमार्फत ६८ करोड रुपैयाँ लागतमा बेनी–पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाख रुपैयाँमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij